भाषा छान्नुहोस : nepal flag

नमस्ते

कोषको स्थापनाः कार्य संचालन कोष ऐन २०४३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार (मन्त्रिपरिषद) ले मिति २०५८/०८/२५ को निर्णयानुसार “राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष २०५८” स्थापना गरेकोछ ।


कोषको उद्देश्यः प्रतिस्पर्धात्मक अनुदान प्रणालीमा आधारित भई कृषि क्षेत्रको समग्र विकासका लागि सरकारी, निजी र गैह्रसरकारी निकाय एवं नागरिक समाजबाट कृषि अनुसन्धान तथा विकास सम्बन्धी आयोजना प्रस्तावहरू माग गरी उपयुक्त एवं प्राथमिकता प्राप्त आयोजनालाई पूर्ण वा आंशिक रूपमा अनुदान दिई सरकारी सेवाको न्यायोचित वितरणद्वारा कार्यक्रम संचालन गरी उपलब्धी हासिल गर्ने ।

कोषका कार्यहरूः कोषको उद्देश्य प्राप्तीका लागी कोषले देहायका कार्यहरू गर्नेछः

क. सरकारी, निजी र गैह्रसरकारी क्षेत्र एवं नागरिक समाज मध्ये कुनैले एक्लै वा एक भन्दा बढी संस्थाहरू मिलेर कोषको उद्देश्य प्राप्तिमा सघाउने अभिलाषा राखेमा तिनलाई लक्षित कार्यमा सहभागी हुने अवसर प्रदान गर्ने ।

ख.  कृषि क्षेत्रको अनुसन्धान तथा विकासको क्षेत्रमा विविधता ल्याउन सरकारी, निजी र गैह्रसरकारी क्षेत्र एवं नागरिक समाजको सहभागिता एवं साझेदारीमा हुने कार्यक्रमलाई प्राथमिकता दिने ।

ग.  कृषि अनुसन्धान तथा विकास कोषको क्षेत्रमा लागेका निजी एवं गैह्रसरकारी क्षेत्र तथा नागरिक समाजको क्षमता विकास एवं सशक्तिकरण कार्यक्रमहरूलाई साधन र श्रोतले भ्याएसम्म सहयोग पुयाउने ।

घ. कृषि पेशालाई व्यवसायको रूपमा विकास गर्ने र स्थानीय कृषि प्रविधि जर्गेना गर्ने कार्यक्रमलाई प्राथमिकता दिने ।

ड.   विद्यमान कृषि योजना तथा नीतिहरूलाई मध्यनजर राखि कृषकहरूको आधारभूत आवश्यकता तथा हितलाई केन्द्रित गरी कार्यनीति बनाउने र सोही अनुसार कार्यक्रमहरू संचालन गर्ने गराउने ।

च. कृषि क्षेत्रले अपनाउने र धान्न सक्ने कृषकमूलक कार्यक्रमलाई उचित प्राथमिकता दिने ।

छ. तत्कालीन, अल्पकालीन र दीर्घकालीन आवश्यकता हेरी दिगो किसिमले कृषकको जीवनस्तर उकास्न सक्ने खालका कार्यक्रमलाई उचित प्राथमिकता दिने ।

कोषमा जम्मा हुने रकमहरूः कोषमा देहाय बमोजिमका रकमहरू जम्मा गरीने छः

क.     प्रत्येक आर्थिक वर्षमा विनियोजन ऐनद्वारा छुट्याइएको रकम ।

ख.     कोषले आफ्नो सेवा प्रदान गरे वापत प्राप्त हुने रकम ।

ग.     माथि उल्लेखित बाहेक अर्थ मन्त्रालयको पूर्व स्वीकृती लिएर अन्य श्रोतबाट प्राप्त गरिने रकम ।

कोष को उपयोगः कोषमा जम्मा भएको रकमको उपयोग कोषको उद्देश्य परिपूर्तिका लागि यस कार्यविधिमा व्यवस्था भए बमोजिम हुनेछ ।

कोष संचालक समितिको गठनः कोषको संचालन तथा कोष सम्बन्धी अन्य व्यवस्था गर्नकोलागि देहायबमोजिमको एउटा कोष संचालक समिति गठन हुनेछः

क.     सचिव, कृषि विकास मन्त्रालय                                                 –अध्यक्ष

ख.     सहसचिव (कृषि हेर्ने), राष्ट्रिय योजना आयोगको सचिवालयमा      –सदस्य

ग.     सहसचिव, अर्थ मन्त्रालय                                                        –सदस्य

घ.     कृषि क्षेत्रको विकासमा उल्लेखनिय योगदान पु¥याएका महिलाहरू मध्येबाट कृषि विकास मन्त्रालयबाट मनोनित भएको कृषि विज्ञ एकजना          –सदस्य

ङ.      प्रतिनिधी, नेपाल उद्योग वाणीज्य महासंघ, कृषि उद्यम केन्द्र     –सदस्य

च.     प्रतिनिधी, नेपाल कृषि महासंघ                                        –सदस्य

छ.     कृषि विकास मन्त्रालयले तोकेको कृषि सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको प्राविधिक अधिकृत    –सदस्य सचिव